मनाङ । गण्डकी प्रदेशको विकट मानिएको जिल्ला मनाङमा विधिवत रुपमा नै सार्वजनिक बस नियमित रुपमा सञ्चालन भएको छ ।
ट्रयाक खोलिएको २२ वर्षपछि जिल्लाको सदरमुकाम चामेसम्म सार्वजनिक बस चलेपछि यहाँका स्थानीयबासीमा खुशीयाली छाएको छ ।
बस नियमित चल्ने भएपछि यहाँका स्थानीयले लमजुङ र मनाङको सिमानामा नै फुलमालासहित स्वागत गरेका छन् । प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरिएको हो ।
कालो पहाड बाटो भएर बस सञ्चालन हुन्छ भन्ने लागेको स्थानबाट नै बस चलेपछि हर्षित बनेका स्थानीयले भव्यरुपमा बसलाई स्वागत गरेका हुन् । सांसद गुरुङले नेपाली सेनाले द्वन्द्वकालमा सुरुआत गरेको ट्रयाक खोल्ने कार्य द्वन्द्वकालमा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण भएको मनाङको मेरुदण्डको रुपमा रहेको एक मात्र सडकमा बस सेवा सञ्चालन गर्ने लक्ष्य पुरा भएको बताए।
विसं २०८१ चैत ७ गते पहिलो पटक यात्रु लिएर बस आइपुगेको मनाङमा सहज रुपमा सार्वजनिक बस सेवा नियमित हुने गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । लमजुङ सदरमुकाम बेसीशहरबाट रिजर्भ यात्रु लिएर बेसीशहर पोखरा रुट चल्ने कान्छा सफारीको ना ६ ख ९५७९ नम्बरको यात्रुबहाक बस पहिलो पटक मनाङ सदरमुकाम चामे ल्याउन सफल भएको थियो । परीक्षण सफल भएपछि नियमित सञ्चालन गरिएको हो ।
ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित रुपमा यात्रुसहित आवतजावत गर्नेछन् । मनाङमा निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकहरु समेत सहज रुपमा पुग्ने गरेका छन् । बस पनि लान सकिन्छ भन्ने लागेर परीक्षणमा पठाइएको बस चालकले सकिने बताएपछि समन्वय गरिएको हो।
डेढ दशक अघि नै मोटर चल्न थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन्। बेसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडकमा यात्रा गर्न अब बोलेरो जीपसँगै बसमार्फत सेवा प्रवाह हुने भएको छ । बेशीसहर–चामेसम्मको भाडादर सात सय ४० कायम गरिएको छ।
बेसीशहरबाट चामेसम्म तिनै सवारीसाधनले मालसामान समेत ढुवानी गर्ने गरेकामा बसमार्फत सहज रुपमा ढुवानी गर्न सकिनेछ । अझ पर्यटक चल्ने सिजनमा अधिकांश सर्वसाधारणले तिनै सवारीसाधनमा समेत सहजै यात्रा गर्न पाउँदैनन् । बस सञ्चालनमा आएपछि स्थानीयबासीलाई सहज हुनेछ । चर्को भाडाको मारमा परेका स्थानीयका साथै पर्यटकलाई आर्थिक भार समेत कम हुने भएको छ ।
बेसीशहर–चामे सडक अन्तर्गत बेसीशहरदेखि खुदीसम्मको ७ किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ। बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकोमा सडकका साँघुरा घुम्तीहरुमा मर्मत सुधार गरी बस सञ्चालन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ०८:२४