सिन्धुपाल्चौक । मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ।
हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा ५ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएको हो।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका बाढीले गएराति घर बगाएको हो। ती घर खाली थिए।
उनका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिँदै जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गरेका हुन्।
शनिबारसम्म आएको बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो।
बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।
यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ।
बाढीले ४ गोठ, १ पक्की पुल र १ झोलुङ्गे पुल बगाएको छ । त्यस्तै १ फर्निचर उद्योग र १ रेडियोको भवन पनि बाढीले बगाएको छ भने बाढीले हेलम्बुका २ पक्की पुल र २ घरको अवस्था अज्ञात रहेको छ।
हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन सकेको छैन।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८ १०:३९