काठमाडौ । नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफ नेपालको सहयोगमा उपत्यकाका ३ वटै ज़िल्लाका बिभिन्न स्थानमा कोभिड-१९ को संक्रमणबाट बच्नका लागि १५ दिने एसएमएस सचेतनामूलक अभियान सञ्चालन भइरहेको छ।
२०७७ भदौ २० गतेदेखि सञ्चालित अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत बिद्यार्थी समेत गरी १ सय जना स्वयमसेवकहरु उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई दैनिक रुपमा परिचालन हुँदै आएका छन्।
अभियानमा सहभागी स्वयमसेवकहरु हरेक दिन बिहान र बेलुका उपत्यकाका भीडभाड हुने बिभिन्न ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो तथा भक्तपुरका सबै नगरपालिकालाई लगायतका क्षेत्रमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतनामूलक अभियान अन्तर्गत मुख्य रुपमा कम्तीमा २ मीटर भौतिक दुरी कायम गर्न सिकाउने र अनुरोध गर्ने, घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्नुका साथै यसको सहि प्रयोग गर्न सिकाउने र मास्क नलगाएकालाई मास्क वितरण समेत गर्ने, बिस सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने (एसएमएस) लगायतका जनचेतना अभिवृद्धि गर्ने अभियानमा लागिरहेका छन्।
स्वयमसेवकहरुसँग साथमा साथ मिलाउँदै नेपाल स्काउटका राष्ट्रिय सँयोजक लोकबहादुर भण्डारी लगायत नेपाल स्काउटको नेतृत्व समेत फिल्डमा खटिएका छन्।
सँयोजक भण्डारीले अभियानमा खटिएका स्वयँसेवकहरुलाई प्रोत्साहित गर्न र अभियानलाई गति प्रदान गर्न आफू समेत स्वयँसेवकहरुसँगै फिल्डमा निस्किएको बताए ।
उनले काेराेनाभाइरस (कोभिड-१९) प्रति आम मानिसले बुझ्न सक्ने सरल भाषामा सन्देश प्रवाह गर्दै उनीहरुलाई थप सुसुचित गराउने र समाजमा कोभिड-१९ बारे भ्रामक गलत सूचना प्रबाह हुन नदिने यस अभियानको उद्देश्य रहेको कुरा सँयोजक भण्डारीले बताए।
अभियानमा सहभागी नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले सहि तरिकाबाट मास्क लगाउनु, साबुन पानीले मिचीमिची हात धुनु, एक अर्काबीच कम्तीमा २ मीटर दुरी कायम गर्नु पर्छ भन्ने जान्दा जान्दै पनि आम मानिसहरुले यसलाई पालना गरेका छैनन्। उक्त तथ्यलाई स्वस्फूर्तरुपमा पालना गर्ने गराउने वातावरणको सिर्जना गर्ने कार्यमा यस अभियान फलदायी हुने कुरा बताए।
उपत्यकाका ३ वटै ज़िल्लाका विभिन्न स्थानमा १५ दिनसम्म सञ्चालन हुने अभियानको आज बाह्रौँ दिनसम्म आइपुग्दा यस अभियानबाट करिब ८ लाख भन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।
अभियानमा माइकिंग गरी कोभिड-१९ बाट बच्न अपनाउनु पर्ने सही सुरक्षा मापदण्ड बारे सूचना दिने, आबश्यक परेकाहरूलाई माक्स र स्यानिटाइजर समेत बितरण गरिएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ १९:४४