–पूनम निरौला
मानिसले यस धर्तिमा जन्म लिएपछि उसले प्राप्त गरेको आमाको माया ममता, बुवाको स्नेह आर्शिवाद, समाजको मार्ग निर्देशन र गुरुवर्गको शैक्षिक ज्ञानबाट नै प्रत्येक मानिसको भविष्यको मार्गचित्र कोरिएको हुन्छ। जसको परिणाम मानिसले प्राप्त गरेको ज्ञान, सीप, बृद्धि र विवेकका आधारमा आफ्नो घर परिवार, समाज र राष्ट्रका निम्ति योगदान गर्न सक्दछ।
यी र यस्तै सेरोफेरोभित्र धेरै आरोह, अबरोध पार गर्दै समाजको एउटा पात्रको रुपमा स्थापित हुन आईपुग्दा आफ्ना केही अनुभव र अनुभूतिलाई यस लेखनका माध्यमबाट स्पष्ट पार्ने जमर्को गरेकी छु।
आजभन्दा पाँच दशकअधि भारतको वनारसमा मेरो जन्मभएको हो। जागिरे मातापिताका सामिप्यतामा रही वालापनको हुर्काइ संभव थिएन मलाई। त्यसर्थ हजुरआमाको माया–ममता र काखमा खेल्दै पूर्वी नेपालको झापा जिल्ला शान्तिनगरमा मेरो वाल्यकाल बित्यो। सोही स्थानको विद्यालयमा मैले प्रारम्भिक एवं माध्यमिक शिक्षा पूरा गरेँ।
हजुरआमाको अथाह माया–प्रेम, आर्शिवाद र व्यवहारका कारण आज अरु सामु यसरी उच्चशीर गर्न सिकाएको छ मलाई। वाल्यकालको पछिल्लो दिनहरुको अझपनि याद आउँछ ! मलाई बाटामा हिडेका बहुलाहालाई समेत घरमा बोलाएर खुवाउन अग्रसर हुने उसवखतमा पनि मानिस मानिस बीचको भेदभाव जातथरको परवाह नगर्ने केवल कर्मलाई प्राथमिकतामा राखी सिङ्गो समाजलाई एउटै देख्ने मेरी हजुरआमाको प्रेरणादायी भूमिका आज मेरो कार्यथलोको प्रत्येक पाइलामा सहयोग र साथी भएको अनुभूति छ मलाई।
अतःवाल्यकालमा जे–जे सिके त्यही सत्मार्गमा आजका दिनको कार्यमा सधैं प्रेरणाको श्रोत भएको अनुभूति भइरहेको छ। १४ वर्षको कलिलो उमेरमा आफ्नो बुवालाई गुमाउनु परेको अवस्थामा मैले घरमा बुवा पछिको परिवारको मूल सदस्यकै हैसियतमा चल्नुपर्ने अवस्था आइलाग्यो। बुवा नहुदाको पिडा कायम नै रहँदा अकस्मात र अकल्पनिय किसिमले परिवारको तारा एवं भगवानको अवतार धारण गरेको भाइलाई समेत हामीले गुमाउनु पर्याे ।
यस्तो असह्य चोट र वेदनाले भरिएको मेरो विगतका दिनहरु मेरो सामू आए। सो पछि मेरो मन मस्तिष्कमा संसारमा जन्म मरणका यावत विषय कुनै मनुष्यको बसमा नभई दैवी–शक्तिको रुपमा मात्रै निर्भर रहेछ भन्ने बोध भयो। यस्तै–यस्तै पारिवारिक समस्या आइरहेकै बेला माइतीघरको समस्यासंग समाधान खोज्दै आफ्नो घर–व्यवहार र व्यवस्थापन चलाउने उद्देश्यकासाथ मैले कलेजको शिक्षा लिदाँ लिदैको अवस्थामा ललितपुरमा प्रवेश गरे। अन्य किसिमका समस्यासंग लडाई गर्दै दुई जना बालबच्चा हुर्काई समाजमा केही योगदान गर्न सक्ने किसिमको शिक्षा दिलाउन मेरो परिवार सफल भयौ।
यसरी जीवनका आरोह–अबरोह पार गर्दा आफ्नो खुशीलाई त्याग गरी अरुको सेवाभावमा आफूलाई लगाउन मन बढ्दै गयो। अभावका साथ यस क्षेत्रका जनताको अपार माया ममता र विश्वासकासाथ ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा सदस्यमा विजय हासिल गरी दिनरात जनसेवाकै काममा समय विताएको पनि चार वर्ष वितिसकेको छ।
यस अवधिमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको सबल नेतृत्वमा हामी वडा सदस्यहरुले वडावासीको हक, हित र अधिकारका कार्यमा अहोरात्र कार्य गर्दै आएका छौ। विकास निर्माणका कार्यमा हामीले कुनै कसर वाँकी राखेका छैनौं । यसैमा वडा सदस्यको हैसियतले म गर्व गर्दछु । यसको सही मूल्यांकन स्थानियवाट भइरहेको छ। जुन गौरवताको प्रतिकका रुपमा मैले लिएकी छु।
मानिस आफ्नो लागि त बाँचेकै हुन्छ। अरुको दुःखमा दुःखी बन्ने र ति मानिसमा सुःखको अनुभूति दिलाउनमा लाग्न मन बढ्छ मलाई। हरेक मानिसमा सकारात्मक सोचको विकास गरी समाज परिवर्तन गर्न सकियोस् भन्ने भावनाले अघि बढ्ने चाहना मनमा सधै आउँदछ।
कस्तुरीले आफ्नो वासना थाहा नपाउंदा भौतारिएर हिंडे जस्तो हामीभित्र रहेको खुशी र खुशी बाहिर निकाली समाजको उन्नतीमा लगाउन सकियोस् भन्ने मूल सोचका साथ म अगाडि बढ्रिहेकी छु। यसमा मलाई हाल भइरहेको साथ र सहयोग मेरा सबै शुभचिन्तकहरुमा हार्दिक नमन गर्दै आगामी दिनहरुमा सधै यस्तै यस्तै सद्भावनाको आशा भरोशा राखेकी छु। धन्यवाद!
(लेखक ललितपुर महानगरपालिका वडा नंबर ५ की लोकप्रिय वडा सदस्य हुनुहुन्छ।)
नामी साप्ताहिकबाट साभार