राजनीतिको रंग नै कैलो हुन्छ। कैलो रंग र कैलो आँखा भएका मान्छेहरुको खासै कुनै भर हुंदैन भन्ने नेपाली सामाजिक मान्यता रहेको छ। जुन पुरातन मान्यता भएतापनि कतिपय बेला यथार्थपरक पनि हुने गर्दछ। भैरहेको पनि पाइन्छ।
प्राय मित्थ्याको रुपमा लिएतापनि राजनीतिक घटनाक्रमले राजनीतिको रंग यथार्थमा नै कैलो नै हो कि भन्ने भ्रम फैलाउने कार्य भने भएकै छ। विशेषत नेपाली राजनीतिमा यस्ता घटना क्रमले विसं.२०४६ सालको जनआन्दोलन यता निरन्तरता पाएको छ।
जसवाट बढी नेपाली जनताले अपेक्षा गरेका हुन्छ। तिनै राजनीतिज्ञ नेता सत्तामा पुगेपछि उही सत्ताको मोहमा परेपछि नेपाली जनता सामु गरेका सवै बाचा–बन्धन भुल्ने गर्दछन्। सत्ता आरोहणसंगै सवै बाचा–बन्धन भुल्ने नेताका कार्यले छेपारोले रंग फेरेझै पटकै पिच्छे कुरा फेर्ने र काम गरेर देखाउनु पर्ने स्थानमा केवल आश्वासन मात्र दिएर भुलाउने कार्यले पटक पटक नेपाली जनता चुक्दै आएकै हो।
प्रत्येक चुनावमा अव भने हाम्रा होइन, राम्रा जनप्रतिनिधि छान्ने भन्ने अभियान हुने गरेतापनि राम्रा होइन, हाम्रा मात्र छान्ने जनताकै कारण जनता बारम्बार धोकामा पर्ने गरेको छ। मोटो रकम बाँडफाँडकै आँडमा राजनीति गर्ने नेताकै कारण चुनाव जित्ने नेताले देश वनाउने छ भन्ने कल्पना वाहिरकै कुरा हो।
नाफाको जिन्दगी जिउने यस्ता नेताले नेपाली जनताको वास्तविक नाफाभन्दा बढी आफ्नै नाफा हेर्ने गर्दछन्। जसले गाउंठाउंको विकासभन्दा आफ्नै विकास बढी गर्ने गर्दछन्। नाफा नलिइकन कुनै काम नगर्ने भएको कारण देशमा असारे विकास मौलाएको कसैवाट छिपेको छैन्।
महिना दिनमा सकिने सडक पिचको सामान्य काम पनि बर्षौ बर्ष पूरा नहुने सानो उदाहरण मात्र पनि राजनीतिको चरित्र बुझ्न सकिन्छ। अर्कोतर्फ, सानो काम लिएर स्थानीय निकायमा पुग्दा समेत कतिपय सर्वसाधारणवाट नाफा असुल्ने गर्ने जस्ता पिडावाट पनि राजनीतिको रंग छताछुल्ल हुने गरेको छ।
राजनीति आफै विशुद्ध सेवामुलक भएतापनि हिजोआज नाफामुलक बन्दैगएको कारण जुन सरकार आएतापनि नेपाली जनताको लागि कान चिरेको जोगी जस्तै बन्ने गरेको छ। जुन दुःखद कुरा हो।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८ १०:१०