काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई भर्चुअल माध्याममार्फत सभ्य व्यवहार गर्न निर्देशन दिएको हो।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा गम्भीरतापूर्वक कर्तव्य निर्वाह गर्न समेत आग्रह गर्नुको साथै सडक सुरक्षा, सडकमा हुने दुर्घटना न्यूनीकरणमा मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न निर्देशन दिएका छन्।
प्रहरी महानिरीक्षक थापाले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोगमा चुक्न नहुनेमा जोड दिँदै कोभिड–१९ को जोखिममा पूर्ण सावधानी अपनाउन सचेत गराए।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८ १५:४७