- रञ्जना न्याैपाने
रोएरै बितेका ए रातीहरु..
परेली चिस्याई हिडेका साथीहरु..!
आकाश कै भार थामेका छातीहरु...
भनिदेउन अब
नखसेका आँशुको मोल कस्तो हुन्छ?
पिडाले थिचिरहेको मुटुको
वास्तविक तौल ! कस्तो हुन्छ??
विवशतामा मुर्छित चाहानाहरु
आफैमा असरल्ल भावनाहरु
जानबुझ बनाएका बाहनाहरु
भनिदेउन अब
नपुगिएको खुशीको गाउँ कस्तो हुन्छ?
बिना प्रहार लगाइएको
मुटु भित्रको घाउ ! कस्तो हुन्छ ??
कोपिला मै चुँडिएका ए फुलहरु
विवश, लाचार समाजका असुलहरु
नचाहेरै तोडनु परेका कबुलहरु
भनिदेउन अब
फुलले नै रेटिनु कस्तो हुन्छ?
स्मृतिको फैलावटलाई
मेटेर पनि भेटिनु ! कस्तो हुन्छ..??
भित्रभित्रै बग्ने आँखाका तालहरु
नबोली सोधिएका सयौं सवालहरु
स्पन्दनमा उठ्ने प्रेमका छालहरु
भनिदेउन अब
हारमा बज्ने ताली कस्तो हुन्छ ?
भन्नुछ तिमीलाई हजार कुरा
तर शब्द खाली ! कस्तो हुन्छ ?
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८ १६:३०