काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडित सहित सहभागी विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनु पर्ने व्यवस्था गरिने पनि जानकारी दिएको हो ।
देशभरि तेजाब आक्रमणका घटनामा परेका मध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत गरिने घोषणा गरेका छन् ।
पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै प्रधानमन्त्री ओलीले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणा समेत गरे ।
प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई तेजाब आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।
“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ”, प्रधानमन्त्री ओलीले भने ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७ १९:३७