काठमाडौ। नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।
पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले निर्धारण मितिभन्दा ढिला भएकामा ध्यानाकर्षण समेत गराएको हो।
बैठकमा निर्धारित समयमै क्रियाशील सदस्यताको काम र महाधिवेशन हुनुपर्ने तथा आफ्नो पक्षबाट महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको नेता बलबहादुर केसीले जानकारी दिएका हुन्।
नेताहरूबीच पार्टीको सैद्धान्तिक र सङ्गठनात्मक रूपमा गर्नुपर्ने विविध विषय र भावी दिनमा पार्टीलाई थप सशक्त नेतृत्वको आवश्यकताका बारेमा छलफल भएको थियो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, अर्जुननरसिंह केसी, केसी, सुजाता कोइराला, शेखर कोइराला उपस्थित थिए।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८ १९:१४