काठमाडौ। एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो। एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेको हो।
टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिए भने मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेण्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परे।
उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ।
नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको शुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल असोज २ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल असोज ५ मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ मा हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एएफसी एसियन महिला कप जनवरी २० तारिखदेखि फेब्रुअरी ६ सम्म हुनेछ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ १६:२१