-शिव न्यौपाने
काठमाडौं । नेपालमा यस्ता कैयौं मठ मन्दिरहरु छन् जुन अहिलेसम्म पनि गुमनाम अवस्थामा मै रहेका छन्।
काठमाडौं उपत्यकाभित्रमै यस्ता विभिन्न किसिमका मठ मन्दिर, गुम्बाहरु, स्तुपाहरु छन् जुन प्रसार प्रसारको अभावमा गुमनाम छन् भन्दा फरक नपर्ला।
त्यस्तै गुमनामहरु मध्येको एक ऐतिहासिक मन्दिर हो नागार्जुन नगरपालिकास्थित जयन्तीपुर रामकोट बतासेडाँडामा रहेको कल्पेश्वर महादेवको मन्दिर।
तपाईहरुलाई अचम्म लाग्न सक्छ कि कहाँ छ, लौन यस्तो नाम गरेको मन्दिर पनि छ भनेर। तर अचम्म नमान्नुस्। आफ्नो छुट्टै विशेषता र मौलिकता बोकेको मन्दिर हो यो कल्पेश्वर मन्दिर। यसको ऐतिहासिक महत्व नै बेग्लै रहेको छ।
संरक्षण र प्रचार प्रसारको पर्खाइमा रहेको यो पावन भूमिको धार्मिक दृष्टिकोणले पनि अति नै महत्वपूर्ण मानिन्छ। नागार्जुन नगरपालिकाको जयन्तीपुर भन्ने स्थानमा अवस्थित यो मन्दिर सतीदेवीको कलेजो पतन भइ कल्पेश्वर महादेव उत्पति भएको र यहाँ तुलसी, कुश आइ तपस्या गरेको किम्बदन्ती श्री स्वस्थानी व्रतकथा किताबमा उल्लेख भएको पाइन्छ।
यस पूण्य भूमिलाई संरक्षण एंव प्रचार प्रसार गर्ने हो भने यस नगरपालिकाको यो क्षेत्र धार्मिक पर्यटकको हिसाबले प्रचुर सम्भावना बोकेको छ भन्दा फरक नपर्ला। त्यसो त यस स्थानमा नगरपालिकाका प्रमुखहरुको निवास पनि रहेको छ।
जहाँ नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशिला अधिकारी जस्ता हस्तीहरुको बसोबास रहेको यस स्थानमा उनीहरुको साथ र सहयोग पाएमा यस ऐतिहासिकस्थल कल्पेश्वर मन्दिर क्षेत्रको विकासमा अवश्य नै टेवा पुग्ने थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८ २१:२५