काठमाडौं। जीवन घाम छायाँ हो । जीवनमा सुख अनि दुःखका आरोह–अवरोह प्रशस्त आउँछन्। जीवन भनेको कुमालेको चक्र जस्तै हो! जस्तो किसिमको आकार दियो त्यस्तै हुन्छ। एउटा सामान्य मान्छे, एउटा ट्याक्सी ड्राइभर, एउटा ट्याकटर चालक, एउटा मिनी ट्रक ड्राइभर,जसले काम र पढाईलाई संगसंगै अघि बढाउँदै जाँदा भोलि देशको राजधानी काठमाडौं महानगरपालिकाको वडाअध्यक्ष हुन्छ भनेर कसले विश्वास गरेको थियो होला र?
पहिला यो वडा भएको स्थानमा कालीमाटी आदर्श गाविस थियो, टंकेश्वर-ताहाचल गाविसमा बस्ने उनै बासिन्दा मास्टर डिग्री पढ्दै गर्दा प्रधानपञ्चको निर्वाचनमा उठेर विजयी समेत बने। यो ५० वर्ष अघिको कुरा हो। त्यतिखेर निर्वाचित भएपछि ४ वर्ष काम गरेपछि कालीमाटी गाविस र टंकेश्वर गाविस एउटै भएर नगरपालिका बन्यो। ६ जना दाजुभाइको साहिला छोरा काठमाडौं वडा नम्बर १३ का वडा अध्यक्ष ७५ वर्षिय ध्रुवनारायण मानन्धर एक पटक होइन दुई पटक वडा अध्यक्ष भैसकेका उनै हस्तीसंग नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीले लिएको विशेष अन्तरवार्ताको सारसंक्षेप।
यहाँको कार्यकाल सकिन लागेको छ, पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ?
निर्वाचन हुनु भन्दा अगाडि हामीलाई विभिन्न ठाउँमा गएर विभिन्न खालका प्रश्नहरु सोध्नु हुन्छ। ती प्रश्नहरुको जवाफ दिएर योजना अनुसार हामी काम गछौं भनेर हामी प्रतिबद्धता जाहेर गछौं। त्यही ठाउँमा कति सर्वसाधारणहरुले पनि यदि तपाईले जित्नु भयो भने हाम्रा कामहरु गर्नुहुन्छ भनेर सोध्नु हुन्छ। त्यसैकारण हामीले हाम्रो प्रतिबद्धता अनुसार काम गर्नु पर्ने हुन्छ र हामीले काम पनि गरिरहेका छौं। किन भन्नुहुन्छ भने यही १३ वडाबाट मैले २०५४ सालमा निर्वाचित भएर वडा अध्यक्ष पनि भएर काम गरिसकेको छु। त्यतिखेर २५ लाख रुपैयाँ मात्र आउँथ्यो। त्यही २५ लाख रुपैयाँले हामीले विकास निर्माणका कामहरु गथ्र्यौ। तर, अहिले हामीलाई काम गर्न झन सजिलो भएको छ। अहिले मेयर साप बिद्यासुन्दर शाक्य ज्यूले वर्षको ३ करोड रुपैया प्रतिवर्ष विकास निर्माणको लागि छुट्याइदिनु भएको छ। त्यसकारण चाहे अनुसारको काम गर्न सजिलो मात्र भएको छैन कि योजना अनुरुप सबै कामहरु पनि सम्पन्न भएका छन्। निर्वाचन हुनु अघिका सम्पूर्ण प्रतिबद्धता गरे अनुसार सबै भएको छ। प्रतिबद्धता नगरेका कामहरु पनि यो करिब ४ वर्षको अवधिमा सम्पन्न भएको छ। यहाँ मठ-मन्दिरहरु छन्। यज्ञश्वर मन्दिर र धनेश्वर मन्दिरको पुनर्निर्माण र जिर्णेद्धार गर्ने योजना छ।
यहाँले अघि भनिसक्नु भयो २०५४ सालमा पनि यही वडाबाट वडा अध्यक्ष भइसक्नु भयो, र अहिलेको निर्वाचनमा पनि निर्वाचित भएर वडा अध्यक्ष भइसक्नु भयो, विकास निर्माणको अनुभव प्रशस्त मात्रामा छ, पहिले र अहिलेको अवस्थामा के फरक पाउनु हुन्छ ?
विकास निर्माणको कुरा गर्नु पर्दा २०५४ सालको कुरा हो। त्यतिखेर बजेट पनि प्रशस्त मात्रामा नभएको हुँदा त्यतिखेर जनतालाई तपाईहरुको पनि योगदान हुनुपर्छ भनेर हामीले उहाँहरुलाई भन्थ्यौं र उहाँहरु पनि आफ्नो ठाउँको विकास निर्माणको लागि २० प्रतिशत, ३० प्रतिशत रकम योगदान गर्नुहुन्थ्यो। अहिले समय परिवर्तन भएको छ र विकास निमार्णको लागि हामी अहोरात्र खटिरहेका पनि छौं। सर्वसाधारणले अहिले विकासको लागि रकम दिनु पर्ने आवश्यकता छैन। किनभने अहिले बजेट पनि पुग्ने नै छ। जसरी हुन्छ-सर्वसाधारणलाई खुशी र सन्तुष्ट बनाउने हाम्रो चाहना हो। तपाईहरुको समस्या के के छन् निवेदन पेश गर्नुस् भन्दा आफ्ना समस्याहरु लिएर आउनुहुन्छ र सहज रुपमा काम पनि सम्पन्न हुन्छ। पहिलेको भन्दा अहिले काम गर्न सहज छ।
सर्वसाधारणहरु यसो पनि भन्ने गर्छन् कि विकास निर्माणको काम जुन अनुपातमा हुनु पर्ने हो त्यो अनुपातमा हुन सकेन भनेर गुनास गरेको पनि सुनिन्छ, के भन्नुहुन्छ यस सम्बन्धमा ?
काठमाडौं महानगरपालिका वडा नम्बर १३ को यस वडामा योजना अनुसार हरेक कामहरु समयमा नै भइरहेका छन्। त्यसकारण कुनै पनि गुनासो सुन्न परेको छैन। जे–जे भन्यो त्यही काम गरेका छौं। तपाई कस्तो खालको योजना ल्याउनुहुन्छ त्यही अनुसार हामी काम गर्न तयार छौं भन्छौं। खोजी खोजी विकास निमार्णका कामहरु पनि सम्पन्न भएका छन्। पहिला २५ लाखको बजेटमा काम गर्न कठिन थियो, अहिले त्यो अवस्था त छैन, त्यही वडा त्यही एरिया, ३ करोड बजेट भनेको प्रशस्त पुग्ने बजेट हो। यो अवधिमा हामीलाई मेयर साब बिद्यासुन्दर शाक्यज्यूले प्रशस्त पुग्ने बजेट दिनुभएको छ। मेरो विचारमा अर्को निर्वाचनमा निर्वाचित भएर आउने जनप्रतिनिधि वा वडा अध्यक्षको लागि काम नै छैन भन्दा हुन्छ। विकास निर्माणका सम्पूर्ण कामहरु हामीले सम्पन्न गरिसकेका छौं।
आफ्नो कार्यकालमै रहँदा आफुले पहल गरेका जुन सम्झिन योग्य कामहरु के के हुन् ?
हेर्नुस् यसमा कस्तो छ भने कुल ३ करोडको बजेट भएपनि, एउटा प्रोजेक्टको लागि जम्मा १० लाख सम्मको मात्र खर्च गर्न पाउँछौं। यो वडाको दक्षिण भेगमा मनमति खोला छ। पानी पर्ने सिजनमा ३ महिनासम्म सर्वसाधारणलाई दुःख दिइरहेको थियो। “कड खोला” अर्थात् कडा खोला नै मनमति खोला भनेर चिनिन्छ। हेर्दा सानो खोलो जस्तो छ तर पानी पर्ने सिजनमा खोला बढेर बाढी घर भित्रसम्म पस्ने, ओछ्यान भिजाउने, कोठा भित्र भेल बगेर सामान सबै बगाउथ्यो! यो दुःख दिने क्रम १५ वर्षसम्म जारी रह्यो। यो कुरामा कसैको ध्यान गएको अवस्था पनि थिएन। कसैले नहेरेको यो ठाउँको समस्या समाधान भएको छ। मेरो आफ्नो कार्यकालमा सबैभन्दा महत्वपूर्ण काम भनेको यो खोलाको करिडोरको वालहरुको निर्माण सम्पन्न भएको छ। यसमा प्रदेश सभाका माननिय राजेश शाक्य र प्रतिनिधि सभाका जीवनराम श्रेष्ठको त्यत्तिकै योगदान छ। यहाँ कुनै पनि समस्या छैन। कुनै गुनासो पनि छैन। हामी पार्टीगत रुपमा काम गर्दैनौं। सबैलाई समान रुपमा राखेर काम गर्दै आइरहेका छौं। तेरो पार्टी, फलानो पार्टी भनेर हामी काम गर्दैनौं। समान व्यवहार र समान तरिकाले काम गछौं। त्यही कारण मेयर साप बिद्यासुन्दर शाक्यज्यूको एउटा अनुरोध थियो कि ठाउँ ठाउँमा सार्वजनिक शौचालय होस् भन्ने चाहना थियो। त्यसको लागि पनि धेरै विरोध भयो, हामी हाम्रो घर वरिपरि शौचालय बनाउन दिदैनौं भनेर। त्यही पनि हामीले भर्खर टेण्डर मार्फत विष्णुमति खोला नजिक सार्वजनिक शौचालय संचालन गरेका छौं। पार्टी पौवा, बाटोघाटो, ढल व्यवस्थापन हामीले बनाएका छौं।
त्यसो भए ढल व्यवस्थापन प्रत्येकको घरमा छ भन्न सकिन्छ ?
यसमा दुई मत छैन , प्रत्येक सर्वसाधारणको घरमा ढल व्यवस्थापन भएको छ । नयाँ व्यक्तिहरु जो बसाई सरेर घर बनाउन आउनु भएको छ र ढलको श्रोत नभएको ठाउँमा घर बनाउदा हामीले ढल विना केही पनि काम गर्न मिल्दैन भनेका छौं । सोही अनुरुप ढल व्यवस्थापन भएको छ।
यस क्षेत्रमा खानेपानीको समस्या कस्तो छ त ?
हेर्नुस् जलश्रोतको दोश्रो धनी भएता पनि हाम्रो जस्तो देशमा धेरै जसो ठाउँमा खानेपानीको समस्या अझै पनि उस्तै छ। यो पश्चिम भेग हो, पूर्वी भेगबाट आउँछ, बालाजुबाट पनि आउँछ, मेलम्चीको पानी पनि आउँदा दिनमै दुई तिन पटक पानी आउँदा पानीको सुख थियो। अहिले मेलम्चीमा दुर्घटना भएपछि केही हदसम्म दुःख त छ। यो क्षेत्रको पश्चिम भाग अर्थात् पुच्चरको भागमा खानेपानीसंग अनुरोध गरेर डिप बोरिङ भएको छ र त्यहाँ खानेपानीको सुविधा भएको छ भने प्रदेश सभाका माननिय राजेश शाक्यको एक्लो पहलमा छाउनीमा डिप बोरिङ भएको छ। त्यस कारण यस क्षेत्रका अधिकांश भागमा पानीको समस्या छैन भन्दा पनि हुन्छ।
बाटोघाटोको समस्या कस्तो छ?
वास्तवमा भन्ने हो भने पहिला बाटोघाटोको अवस्था लथालिङ्ग थियो। यत्रतत्र खाल्डाखुल्डी मात्र थियो। जब हामी निर्वाचित भएर आयौं करिब ६/७ महिनाको अवधिमा सबैतिर हामीले हरेक गल्ली गल्लीमा ब्लक र इटा छापेर बाटो घाटो निर्माण गर्यौं र पिच पनि गर्यौं। पिच गर्यौं भनेर हामी खुशी भएर बस्यौै वर्ष दिन नबित्दै फेरि पिच उप्किने समस्या भयो। त्यही पिचमाथि फेरि एक लेयर थपेर पिच गरेका छौं।
महिला तथा बालबालिकाको लागि कस्ता खालका कार्यक्रम ल्याउनु भएको छ ?
बिशेष गरी महिलाको लागि हामीले विभिन्न किसिमका तालिमहरु दिने गरेका छौं। जस्तै कौशी खेती, उद्घोषण तालिम, साबुनको झोल बनाउने, जुत्ता सिलाउने तालिम, बेकरी तालिम दिएका छौं। ती तालिमहरु लिइसकेपछि महिला दिदी बहिनीहरुले लाभ समेत लिनुभएको छ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नु भएको छ कि छैन ?
सामान्यतया मानिसको जीवनमा स्वास्थ्य प्रमुख प्राथमिकतामा पर्दछ। महानगरपालिकाले हरेक वडामा एउटा स्वास्थ्य क्लिनिकको व्यवस्था गरेको छ। त्यसमा एक जना प्रमुख र एक जना सहायक हुन्छन्। जम्मा दुई जनाको दरबन्दी हुन्छ। सामान्य उपचार यही नै हुन्छ।
दुई दुई पटक वडा अध्यक्ष भइसक्नु भएको छ, काम गर्दा चुनौती त पक्कै आए होलान् नि होइन?
वास्तवमा भन्ने हो भने चुनौतीको सामाना कहिले पनि गर्नु परेकै छैन। सर्वसाधारणको हरेक काम सोधी सोधी घर आँगनमा पुगेर सम्पन्न गर्ने गरेका छौं। उनीहरुको समस्या समाधान गरेका छौं। सबैलाई खुशी बनाएका छौं। हामी गल्ली गल्ली पुगेर उनीहरुको इच्छा चाहना अनुसार काम गरिहेका छौं। सर्वसाधाराले पनि हामीलाई विश्वास एवं माया गर्नु भएको छ। यस्तो अवस्थामा हामीलाई कहिले चुनौतीको सामाना गरेका छैनौं।
अब यहाँको लक्ष्य के छन् त ?
अब मेरो लक्ष्य भनेको सामाजिक सेवामा नै समर्पित हुने हो। पदमा रहेर होइन, सर्वसाधारणको मन मस्तिष्कमा रहेर समाज सेवा गर्ने चाहना छ। अबको निर्वाचनमा साथीहरुलाई निर्वाचित गर्न सहयोग गर्ने र आफू पदमा नरही पछाडि बसेर साथीहरुलाई सहयोग गर्ने इच्छा छ। नयाँ पिढीलाई अवसर दिनुपर्छ भन्ने मान्यता छ।