काठमाडौ । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच विद्युत महसुल संकलन सम्बन्धि सम्झौता-पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता-पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेको हो।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफूले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन्।
सम्झौता अनुसार सेवा ग्राहीले मासिक रुपैयाँ ५ सयसम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनु पर्दैन भने रुपैयाँ ५ सय एकभन्दा माथि रुपैयाँ ५ लाखसम्मको महशुल भुक्तानीमा रुपैयाँ ५ मात्र सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ।
महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ।
देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले प्रधिकरणसँग सम्झौता-पत्रमा हस्ताक्षर गरेको हो।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८ २१:०८