काठमाडौ । सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि शुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा विचार विमर्श भएको बुझिएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको बताइएको छ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरुको सहभागिता थियो। बैठकमा विपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी नेताले बताए।
यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरुबीच समसामयिक विषयमा छलफल भएको थियो।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८ १९:४६