काठमाडौं । मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउने एउटा महत्वपूर्ण आधार राजनीति पनि हो। राजनीतिबाटै महिलाले सिंगो मुलुक हाक्न सक्छन् अनि मुलुकलाई समृद्ध बनाउन पनि सक्छन्। थुप्रै मुलुकका आर्थिक विकासका अनुभव र समय समयमा गरिएका विभिन्न अनुसन्धानले महिलाको सक्रिय सहभागिता विना आर्थिक तथा सामाजिक विकासको लक्ष्य हासिल हुन सक्दैन भन्ने प्रमाणित गरिसकेको छ।
सधै हँसिलो अनुहार, निरन्तर सर्वसाधारणको सेवामा खटिरहने, सबैलाई समान व्यवहार गर्ने, विकास निर्माणका काममा दिन रात नभनि अहोरात्र लागिरहने, सकारात्मक तरिकाबाट समाज परिवर्तन गर्ने महिला काठमाडौं महानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटा चिर परिचित नाम हो।
यिनै काठमाडौं महानगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष शोभा सापकोटासंग नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप :–
काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष महिला हुनुहुन्छ, अवसर पाए महिलाले नीति निर्माणको तहमा काम गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण प्रमाणित भइसकेको छ। के भन्नुहुन्छ यस सम्बन्धमा?
एक दम सही भन्नुभयो, अवसर पाए महिलाले जस्तो सुकै काम पनि गर्न सक्छन्। तर सोचे जति सजिलो त पक्कै पनि छैन। किनभने हामीले सिकेर आएको संस्कार र चाल, चलन, रितिरिवाज जस्तो छ त्यही परिवेशमा छौं हामी। परिवर्तन भएकै छैन। परिवर्तन त धेरै कुरामा भएको छ, तर कुनै पनि कुरा तुरुन्तै परिवर्तन हुँदैन त्यसको लागि समय लागिहाल्छ। पितृप्रधान समाजमा महिलालाई अझै पनि दोश्रो दर्जाको रुपमा हेर्ने चलन छ। महिलाले काम गर्न सक्दिन कि, अथवा पुरुष भन्दा माथि जान्छन् कि भन्नेहरु पुरुष होइनन्, महिला नै हुन्, त्यसकारण हाम्रो जस्तो मुलुकमा परिवर्तन हुन समय लाग्छ, तर अवसर पाए जस्तो सुकै काम पनि गर्न सक्छन्। चुनौतीलाई अवसरका रुपमा लिएर काम गर्नुपर्छ।
देशमा आधा भन्दा बढी जनसंख्या महिलाको छ। तरपनि अवसरको कमीले अगाडि आउन सकेका छैनन्, महिलालाई कतिको गाह्रो हुन्छ काम गर्न, अगाडि बढ्न?
वास्तवमा भन्ने हो भने महिलालाई अगाडि बढ्न गाह्रो नै छ। अवसर पाउन पनि गाह्रो छ। अवसर पाएपनि विभिन्न खालका समस्याहरु आइपर्छन्। किनभने हामी महिलाहरु हिजो चौघेरामा सिमित थियौं, आज चौघेरा त नाघेको छौं। तरपनि, समस्याहरु प्रशस्त छन्। हामीले हाम्रो घर परिवार सबैलाई खुशी बनाएर बाहिर निस्किनु पर्ने हुन्छ। यसको अर्थ यो होइन कि हामीलाई पुरुषले सहयोग गर्दैनन् भन्ने। मलाई पनि धेरै नै सहयोग प्राप्त भएको छ। परिवर्तनशिल समयमा पाइला टेके पनि हामी अलि पुरानो संस्कारमा हुर्किएको हुनाले घरको काम पुरुषले गर्नु हुन्न भन्ने मान्यता छ। कतिपय अवस्थामा हामी महिला आफ्नै कारणले पनि पछाडि परेका छौं।
विकास निर्माणका कामहरु योजना अनुसार कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ?
निर्वाचन अघि हामीले सर्वसाधारणको घर दैलोमा गएर विभिन्न किसिमका प्रतिवद्धताहरु गरेका थियौं। निर्वाचित भएपछि आफ्नो वडामा भएका हरेक समस्याको समाधान र विकास निर्माणका कामहरु गछौं भनेर। काठमाडौं महानगरपालिकाको ठूलो वडा मध्ये यो १४ वडा पनि एक हो। २२ हजार मतदाता र करिब ९० हजार जतिको बसोबास रहेको यस वडामा मूलुकका सबै जिल्लाका मानिसहरु बसोबास गर्नुहुन्छ। हामीले प्रतिबद्धता अनुसार कामहरु पनि गरेका छौं। सबैभन्दा पहिला त वडाको भवन नै आवश्यक थियो। भवन बनाउँदा विभिन्न किसिमका चुनौती र समस्याहरु नआएका त होइन, ती चुनौतिलाई हामीले अवसरको रुपमा लिएर अघि बढ्यौं।
हुन त नेपाल विश्वमै दोश्रो जलश्रोतको धनी देश हो। तर हाम्रो देशका विभिन्न ठाउँमा पानीको दुःख छ, त्यसमा पनि वडा नम्बर १४ अछुतो रहन सकेको छैन। यो काकाकुल क्षेत्र त्यसमा पनि यो कलंकी एरियामा धेरै नै संकट थियो। पानीको अभाव पुरुषलाई भन्दा महिलालाई धेरै थाहा हुन्छ। निर्वाचित भएपछि हामीले शुरुमा केयूकेएलसंग सम्पर्क गरी बैठक बस्यौं। पानीको अभाव आजको भोलि नै समाधान हुने त होइन। सबैलाई समान तरिकाले पानी वितरण होस् भनेर प्रस्ताव राख्यौं। सबै ठाउँमा अध्ययन तथा अनुसन्धान गरिसकेपछि विभिन्न ठाउँमा धाराहरु विग्रिएको तथा चुहावट भएको पाइयो। मेलम्ची आउने कुरा पनि थियो, हामीले मेलम्ची नै गएर प्रमुखसंग भेट्यौं र छलफल गरी पानीको सहज आपूर्तीको व्यवस्था मिलायौं।
दुर्भाग्यवश मेलम्चीको दिर्घकालिन रुपमा पानीको व्यवस्थापन हुन सकेन। यो हामी सबैलाई थाहा भएको कुरा हो। यो त रिङरोडभित्रको कुरा भयो। रिङरोड बाहिर खड्का गाउँ छ। यही वडाभित्र पर्छ, ८ सय घरधुरी छन्, त्यहाँ पानीको लाइन नै थिएन। त्यसपछि बागमी प्रदेशका लोकप्रिय सांसद डाक्टर अजयक्रान्ति शाक्य, जो यही वडाको हुनुहुन्छ। उहाँसंग छलफल गरेर तुरुन्त बजेट छुट्यायौं। अहिले त्यहाँ २ लाख ७५ हजार लिटरको रिर्जभ ट्यांकी र बोरिङको पनि व्यवस्थापन गर्याै। अहिले ८ सय घरधूरीमा पानीको सहज आपूर्ति भएको छ। बाटोघाटोको पनि वृहत विस्तार भएको छ।
खड्का गाउँको खत्री टोल भन्ने छ त्यहाँ ३ फिटे बाटो विस्तार गरी गाडी जाने बाटो बनाएको छौं। ढल व्यवस्थापन पनि राम्रोसंग भएको छ। शुरुमा लथालिङग अवस्था थियो, अहिले प्रत्येक घर घरमा ढल व्यवस्थापन भएको छ। ढल व्यवस्थापन गरिसकेपछि सानो बाटोमा ब्लक छाप्ने, ठूलो बाटोमा पिच गर्ने तथा ओरालो बाटोमा ढलान गर्ने काम भइसकेको छ। प्रति जग्गा जहाँ एक आना, दुई आना थिए, त्यस्तो ११ ठाउँमा पार्कहरु बनाएका छौं।
कुलेश्वर महादेव मन्दिरमा ७ रोपनी जग्गा छ, त्यसमा दुई चरण गरी पहिलो चरणमा १ करोड ५० लाख छुट्याइएको छ, त्यहाँ पार्क बनाउने काम पनि भइरहेको छ । महादेव मन्दिरको लागि पनि बजेट छुट्याएका छौं। कुलेश्वर मन्दिरलाई एउटा नमूना मन्दिर बनाउने योजना अनुसार नै काम भइरहेको छ। विकास निर्माणका धेरै कामहरु भएका छन्। बाँकी कामहरु पनि निरन्तर जारी छ। हामीलाई स्थानिय स्तरबाट धेरै साथ र सहयोग प्राप्त भएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ विशेष गरी कलंकी एरियामा धेरै जाम हुने, अव्यवस्थित सवारी साधन, भिडभाड तथा धूलो धूवाँको केही हदसम्म समाधान भएको अवस्था छ, यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
काठमाडौं महानगरपालिका वडा नम्बर १४ भनेको राजधानी पस्ने मुख्य नाका हो। काठमाडौंको मुहार कस्तो छ भनेर हेर्ने मुख्य चोक कलंकी जुन १४ वडाभित्र पर्छ। कलंकी एरियामा धेरै जाम हुन्थ्यो। सर्वसाधारणहरु दिनहुँ जाम लगायतका समस्याहरु लिएर आउनुहुन्थ्यो। त्यतिखेर जाम चाँहि मुख्य समस्याको रुपमा थियो। यस्ता समस्याहरु समाधान गर्नुपर्छ भनेर हामीले कलंकी चोक सुधार समितिका सदस्यहरु, क्लबहरु तथा विभिन्न संघ संस्थाहरुसंग हातेमालो गरी, त्यतिखेर ट्राफिक प्रमुख सर्वेन्द्र खनाल हुनुहुन्थ्यो, उहाँलाई भेटेर छलफल गरी यो अव्यवस्थित जामलाई कसरी समाधान गर्ने भनेर छलफल गर्याै।
शुरुमा निष्कर्ष निस्कियो–फुटपाथको पसललाई उचित ठाउँमा
व्यवस्थित गर्ने, त्यसमा विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने कुरा भयो। साथै काठमाडौं महानगरपालिकाले एउटा नीति ल्यायो। पिक एण्ड ड्रप जहाँ सार्वजनिक सवारी साधनहरु अव्यवस्थित रुपमा यात्रुहरु चढाउने र ओराल्ने नगर्ने। रत्नपार्क, कोटेश्वरबाट आएको सवारी साधन कलंकी चोकमा नरोक्ने, त्यस्तै सात दोबाटोबाट आएको सवारी साधन मकालु वा भाटभटेनीनिर रोक्ने। त्यस्तै बालाजुबाट आएको सवारी साधन पनि मकालुमा रोक्ने।
यसको लागि हामी जनप्रतिनिधि, ट्राफिक प्रहरी, क्लबहरु तथा विभिन्न संघ संस्थाहरु नै लागि प¥यौं। यसको लागि फेरि चौतर्फी विरोध नआएको पनि होइन, कुनै पनि नयाँ कुराको तुरुन्तै बानी त पर्दैन, धैर्य गनुहोस् बानी पर्छ भनेपछि विरोध कम भयो। थानकोटतिर एम्बुलेन्समा बिरामी आउँदा जामले बिचमै बिरामीको अवस्था गम्भिर हुनु भन्दा ५ मिनेट हिड्दिनुस् भनेर सम्झायौं हामीले, उहाँहरुले पनि बुझ्नु भयो।
वातावरणको पनि कुरा गरौं, वातावरण स्वच्छ कसरी बनाउने भन्ने बारेमा हामीले एउटा अभियान चलायौं। प्रत्येक घरमा एउटा विरुवा रोप्ने, खाली जग्गामा पार्क बनाउने, प्रत्येक घरमा सेफ्टी ट्यांकी बनाउने जसले गर्दा वातावरण पनि स्वच्छ र सफा हुने भयो। राम्रो कुराको परिवर्तन त गर्नु पर्छ तर शुरुवात भने सधै आफैबाट गर्ने हो नि।
-नामी साप्ताहिकबाट साभार