सुदरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षको नाम हो गोबिन्द राज बोहरा। वडा अध्यक्ष बोहरा सरल स्वभाव, मिजासिलो व्यवहार, उच्च विचारका धनी व्यक्ति हुन्।
स्थानीय जनप्रेमी तथा विकासप्रेमी डडेलधुरा जिल्लाको अमरगढि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोबिन्द राज बोहरासंग निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप:–
यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ, पक्कैपनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो। यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा गर्नु भएको छ?
समग्रमा भन्नु पर्दा लामो समयसम्म स्थानिय जनप्रतिनिधि नभएको अवस्थामा बीचमा विकास निर्माणका कुनै पनि कामहरु भएका थिएनन्। करिब १९/२० वर्ष पछि स्थानिय निर्वाचन भयो। यो अन्र्तरालमा विकास निर्माणका धेरै कामहरु भएका छन्। निर्वाचित हुनु अघि हामीले गरेका विभिन्न किसिमका प्रतिबद्धताहरु थिए, ती प्रतिबद्धता अनुसार नै विकासका कामहरु भएका छन्। स्थानिय सर्वसाधारणले चाहे अनुसारको सेवा सुविधा लगायतका कामहरु भएका छन्। स्थानिय जनता जनप्रतिनिधिसंग खुशी भएका छन्। आत्म सन्तुष्टि दिने गरी काम गरेका छौं।
विशेष गरी यो ठाउँमा स्थानिय बासिन्दाको मुख्य समस्या के रहेको पाउनु भयो?
समस्या त धेरै खालका हुन्छन्। शहरी भेगमा जस्तो सुविधा हुँदैन। ग्रामिण भेगमा सबै भन्दा ठूलो समस्या भनेको खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य लगायतका थुप्रै समस्याहरु हुन्छन्। पछिल्लो समयमा हामीले ती समस्याहरुलाई सम्बोधन गरेर अगाडि बढे्का छौं।
सुदूरपश्चिमको हकमा महिलाका कस्ता खालका समस्याहरु रहेका छन् ?
बजेट बनाउँदा नै हामीले सबै कुराहरु समावेश गरेका हुन्छौं। हाम्रो सुदूरपश्चिममातयसमा पनि स्थानिय निकायमा बजेट निकै कम हुन्छ। पहिलो वर्षमा १९ लाख, दोश्रो वर्षमा २५ लाख, तेश्रो वर्षमा ५४ लाख र चौथो वर्षमा ३५ लाख मात्र बजेट विनियोजन भएको हुन्छ।
सिमित बजेटमा धेरै काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ। त्यही सिमित बजेटलाई हामीले शिक्षा, स्वास्थ्य, महिला बालबालिका पूर्वाधार लगायतका सम्पूर्ण खर्च यही बजेटबाट गर्नु पर्ने हुन्छ। यो पनि एक किसिमको चुनौती नै हो। यस्ता चुनौतीको बाबजुद पनि यसलाई हामीले सूक्ष्म अध्ययन गरी हामीले ४ भागमा विभाजन गर्यौं, शिक्षा र स्वास्थ्यमा छुट्टै, पूर्वाधार विकास निर्माणमा छुट्टै, सांस्कृतिक विकास निर्माणमा छुट्टै र मानविय विकासमा छुट्टा-छुट्टै तरिकाले बजेट विनियोजन गरेका छौं।
ग्रामिण स्वास्थ्य केन्द्र स्थापना गरेका छौं भने कृषिमा यान्त्रिकिकरणका साथै आधुनिकिकरण विऊ विजनमा पनि काम गर्दे महिलाका लागि पनि काम गर्दै आएका छौं। महिलाहरुलाई आफ्नो अधिकारका बारेमा, धरेलु हिंसाका बारेमा जानकारी गराएर विभिन्न किसिमका तालिमहरु दिएका छौं। जसमा सिलाई, बुनाई, अचार बनाउने, खेलौना बनाउने लगायतका तालिमहरु दिदै आएका छौं।
ती तालिम लिएका महिलाहरु कत्तिको सक्षम भएको पाउनु भएको छ?
कस्तो हुन्छ भने हाम्रो जस्तो देश त्यसमा पनि सुदुरपश्चिमको कुरा गर्ने हो भने शहरी भेगको तुलनामा ग्रामीण भेगका महिला निकै पछाडी परेका छन्। यस्ता खालका तालिमहरु लिएपछि महिलाहरु आत्मनिर्भर भएका छन्। विभिन्न संघ संस्था, सामुदायिक प्रहरी लगायतसंग हातेमालो गरेर विभिन्न किसिमका तालिमहरु दिए पछि उनीहरु सक्षम भएका छन्। बालबालिकाहरुको क्षेत्रमा पनि उल्लेखनीय काम गरेका छौं।
स्थानिय बासिन्दाको कत्तिको सहयोग पाउनु भएको छ ?
वास्तवमा भन्ने हो भने हामी जनप्रतिनिधि स्थानिय सर्वसाधारणको सहयोग र साथ विना केही पनि काम गर्न सक्दैनौं। उहाँहरुको साथ र सहयोग उत्साहपूर्ण छ हामीलाई। केही खालको सामाजिक गुनासा पनि नआएका होइनन्। विशेष गरी अशिक्षा, बेरोजगारी तथा मदिरा सेवन रहेका छन्, यसलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ भनेर विभिन्न किसिमका गतिविधिहरु अघि सारेका छौं।
आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मानिस कहिले पनि सन्तुष्ट हुँदैन। मानिस असन्तोषी प्राणी हो। यो भन्दा धेरै काम गर्न पाए हुन्थ्यो, यो भन्दा धेरै बजेट ल्याउन पाए हुन्थ्यो भन्ने सधै लागिरहन्छ। सर्वसाधारण जनताको लागि धेरै सुविधाहरु दिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ। जनताका हरेक समस्या समाधान गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। सन्तुष्ट नै नभएको त भन्न मिल्दैन तर काम गर्न अझै धेरै बाँकी छन्।
त्यसो भए स्थानिय निकाय घरआँगनको सरकार हो भनेर सर्वसाधरणहरुले चित्त बुझाउन सक्छन्?
वास्तवमा भन्ने हो भने विभिन्न संचार माध्यमहरुमा सिंहदरबार घर–घरमा भन्ने कुरा आइरहेको छ, साँच्चै भन्नु पर्दा स्थानिय निकाय घर–आँगनको सरकार हो भन्दा फरक नपर्ला। सेवा ग्राहीले पनि आफूले पाउनु पर्ने सुविधाहरु पाएर खुशी हुनुहुन्छ।
काम गर्दा कस्ता खालका चुनौतीहरु आउँछन्?
एकदम राम्रो प्रश्न गर्नुभयो। मुख्य चुनौतीमा भौगालिक विकटतालाई मान्न सकिन्छ। तराई या शहर विकास गर्न सजिलो छैन। ग्रामिण भेगमा बिद्युतिकरणमा समस्या छन्, सामाजिक, आर्थिक तथा बाटोघाटो, पुल पुलेसा, वातावरणीय रुपमा पनि धेरै किसिमका चुनौतीहरु छन्। यी सबै चुनौतीलाई सामना गरेर अघि बढ्दै जान्छौं।
अब कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ? यही पदमा उठ्ने कि के गर्ने? फेरि आफु निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ?
स्वभाविक रुपमा अगाडि बढ्ने नै र माथि जाने इच्छा छ। जनताहरुले माया गरेर यो स्थानसम्म ल्याई पुर्याईदिनु भएको छ। पक्कै पनि आगामी दिनमा पनि माया ममता गरेर काम हेरेर सही निर्णय गरिदिनुहुन्छ भन्ने लागेको छ। अब यो वर्षको बजेटमा बाँकी रहेका समपूर्ण कामहरु गर्ने योजना रहेको छ। कसरी हुन्छ जनताको लागि धेरै भन्दा धेरै सेवा सुविधा दिन सकियोस् भन्ने चाहना छ। स्थानिय जनताको साथ र सहयोग पनि त्यत्तिकै पाएका छौं।
-नामी साप्ताहिकबाट साभार