गलेश्वर, म्याग्दी । भारतीय सेनाबाट अवकास पाभएका म्याग्दीको बेनी नगरपालिका-२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय शुरु गरेको छ।
भारतीय सेनामा १७ वर्ष काम गरेर अवकास पाएका घिमिरेले गाउँ फर्किएर कालिजपालन शुरु गरेको हो। उनले शुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ।
रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन शुरु गरेको घिमिरेले ७ महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेको छ।
रुपैयाँ २१ लाखको लगानीबाट कालिजपालन शुरु गरेका घिमिरेको फर्ममा अहिले ६ सय कालिज हुर्कदै छन्। यस अवधिमा उनले ११० वटा कालिज बिक्री गरेको छ। लामो अध्ययनपछि घिमिरेले फापरखेतमा कालिज पाल्ने सोच बनाएको हो।
“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भन्छन्, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय शुरु गरेको हुँ।”
घिमिरेले ७ रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएको छ। त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन्। अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए।
कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५०० का दरले बिक्री हुने गरेको उनले जानकारी दिए। कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ,कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेको छ।
त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन्।
निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ।
पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए। कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ।
पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको रहेको छ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८ १७:५७