सोलुखुम्बू । थुलुङदुधकोशी गाउँपालिका अनलाइनबाट सेवा प्रदान गर्ने देशकै पहिलो गाउँपालिका भएको छ।
गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्ने देशकै पहिलो गाउँपालिका थुलुङदुधकोशी भएको दाबी गरेको हो।
विद्युतिय राजश्व भुक्तानी प्रणालीको एक कार्यक्रमकाबीच सुभारम्भ गर्दै अध्यक्ष राईले यस्तो दावी गरेका हुन्। यस प्रणालीबाट पालिकावासीलाई छिटो छरितो र सर्वसुलभ सेवा प्रवाह गर्न सकिने अध्यक्ष राईको भनाई रहेको छ।
विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकहरुले अब घरमै बसेर कर दाता पोर्टल मार्फत तिर्न सक्ने छन्।
शुुरुवातमा यस करदाता पोर्टल सम्बन्धी स्थानीय नागरिकहरु अनविज्ञ हुने भएकाले एक आपसमा ज्ञान बाँडेर अगाडी बढ्नुपर्ने अध्यक्ष राईको भनाई छ।
करदाता पोर्टलमार्फत गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएको सेवाग्राहीले ईन्टरनेटको पहुँच मार्फत आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरि जुनसुकै ठाउँबाट आफ्नो व्यक्तिगत विवरण, सम्पति विवरण, व्यवसायको विवरण र कर तिरेको विवरण हेर्न मिल्ने बताइएको छ ।
जग्गाको कर, घरभाडा, सवारी साधनको कर, व्यवसाय कर, मालपोत, सम्पति कर लगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाईनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ।
यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता गरिएको हुनुपर्ने छ।
वडा कार्यालयमा स्वयम् व्यक्ति वा ईमेलको माध्ययमबाट सम्पर्क गरि आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको संकेत नम्बर र नयाँ आन्तरिक संकेत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।
करदाता र नयाँ आन्तरिक संकेत नम्बर प्राप्त गरिसकेपछि ई–सर्भिस डट थुलुङ दुधकोशी गाउँपालिका डट जिओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिस्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्त्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाईन भुक्तानी सेवा प्रदायक ई–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ।
यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनौट गरि कर निर्धारण गरी तिनुपर्ने कर अनलाईन भुक्तानी सेवा प्रदायक ई–सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिस्टर भईसकेपछि ई–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देख्न सकिने छ।
करदाता पोर्टल सुचारु भएयता गाउँपालिकामा हालसम्म एक लाख तेइस हजार एक सय त्रीचालिस रुपैयाँ राजस्व सङ्कलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ।