उदयपुर । दशैको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् ।
अत्यधिक वर्षाका कारण भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन्।
यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन्।
ति सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताएका हुन्।दसैँ अघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ-गाउँ पुगेका थिए । सडक नखुलेका कारण ति सवारीसाधन बाटोमै थन्किएको मगर बताउँछन् ।
उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले जानकारी दिए।
ग्रामीण सडक नुखुलेपछि दसैँ मान्न गाउँ गएकाहरु बीच बाटोमा अलपत्र छन्। उनीहरु २ / ३ दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य भएका छन्।
ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको यातायात व्यवसायी मोहन श्रेष्ठले बताए।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १०:०२