काठमाडौ। राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू-भागका लोकसंस्कृति प्रस्तुत गरेको हो।
त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक-सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन्।
त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गरेको थियो।
राष्ट्रपति भण्डारीले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैले दिएको थियो।
राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताए।
उनले सांस्कृतिक संस्थानले नेपालको लोक-संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिए।
राष्ट्रपति भण्डारीले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्याउन सक्ने बताए।
राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८ १७:२२