भनिन्छ, हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ, अनि हरेक सफल महिलाको पछाडि पुरुषको हात हुन्छ। जिन्दगी त्यो हो जहाँ एक अर्काको साथ र सहयोग भरपूर प्राप्त हुन्छ।
अनि हरेक काममा सफलता प्राप्त हुन्छ। साथीभाइको जमघट होस् या कुनै सभा समारोहमा जीवन संगिनीको तारिफ गर्न नचुकाउने साहित्यकार भुवन शिवाकोटीको राम्रो बानी रहेको छ।
कालिञ्चोक गाउँपालिका-८ सुनखानी चौघरा दोलखामा जन्मिएका भुवन शिवाकोटी चौघरे साहित्यिक क्षेत्रमा परिचित नाम हो।
दोलखाको चौघेरा जन्मभूमि जहाँ शिवाकोटीको ऐतिहासिक धरोहर जुन पहिलो पुस्ताले निर्माण गरेको सो घरमा आफू ११ औं पुस्तामा जन्मिएकोले चौघेराको अत्यन्त माया र स्नेहले गर्दा आफू पनि साहित्यिक क्षेत्रमा हात अगाडि बढाउँदा चौघरे राखेको बताउछन्।
रसिलो व्यवहार, फराकिलो सोच, उच्चविचार, समाज परिवर्तनको लागि पुरुषमात्र होइन महिला पनि अगाडि बढ्नु पर्छ भन्ने मान्यता राख्छन्।
आफ्नो रसिलो व्यवहारका कारण धेरै मानिसहरु छिट्टै नजिक हुने र साथी बन्ने खुलासा गर्न पनि चुक्दैनन्। आफूलाई लेख्ने शैली थाहा नभएपनि ३/४ कक्षामा पढ्दा नै रेडियो नेपालमा बालकार्यक्रमका लागि रचना पठाउने गरेको इतिहास सुनाउछन्।
त्यसो त वानेश्वर क्याम्पसबाट पहिलो पटक प्रकाशित रजहाँस साहित्यिक पत्रिकामा म चाहन्छु मेरो देश भन्ने शीर्षकको कविता प्रकाशित भएको स्मरण गर्छन्।
लेख्ने क्रमजारी भएपनि प्रकाशित हुन भने धेरै बाँकी रहेको बताउने शिवाकोटीले साहित्यकका विविध विधामा कलम चलाएका छन्। कथा होस् या कविता, मुक्तक होस् या हाइकु हरेक विधामा सशक्त रुपमा कलम चलाउदै आएको बताउँछन्।
यद्यपि गीत गाउन पनि उत्तिकै पोख्त शिवाकोटीका करिब ३ दर्जन गीति एल्बम रेकर्ड भएर सार्वजनिक भैसकेका छन्। जसमा आफ्नै शब्द, संगीत र स्वर रहेको छ।
राष्ट्रिय भावले ओतप्रोत गीत होस् या आधुनिक हरेक किसिमका गीतहरुमा कलम चलाउदै आएको पनि सगौरब बताउँछन्।यो त साहित्यिक क्षेत्रको पाटो मात्र भयो, लेखा परिक्षणसंग सम्बन्धित पेशामा आबद्ध शिवाकोटी रजिष्ट्रार अडिटर पनि हुन्।
पेशा र साहित्य दुई फरक विषय भएपनि यसलाई राम्रोसंग समायोजन गर्न सक्नुमा आफ्नो जीवन संगीनी सुनिता शिवाकोटीको विशेष साथ र सहयोग रहेको बताउन पनि चुक्दैनन्।
-नामी साप्ताहिकबाट
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १३:४२