काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो।
पारा तेक्वान्दो खेलाडीद्वयलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले सम्मान गरेका हुन्।
टोकियो पारा ओलम्पिकमा दुई फाइट जित्दै पलेशाले ऐतिहासिक सफलता हात पारेकी थिइन्। उनीभन्दा पहिले कोही पनि नेपाली खेलाडीले ओलम्पिकमा दुई फाइट जित्न सकेका थिएनन्।
पलेशाले अन्तिम समयमा ऐतिहासिक कांस्य पदक जित्नबाट चुकेकी थिइन्। १८ वर्षीया पलेशाले वाइल्ड कार्डमार्फत पारा ओलम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन्। उनी टोकियो पारा ओलम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुन्।
सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन्।
कविराज अन्तर्राष्ट्रिय पारा तेक्वान्दो कोचको लेवल-२ कोर्ष पूरा गर्ने एक्ला प्रशिक्षक हुन्। वल्र्ड तेक्वान्दो फेडरेशनले गत मंसिरमा आयोजना गरेको लेवल-२ कोर्ष उनले उत्तीर्ण गरेका थिए।
प्रशिक्षक कविराजकै प्रशिक्षणमा पलेशाले टोकियो पारा ओलम्पिकमा ऐतिहासिक सफलता हात पारेकी थिइन्। टोकियो पारा ओलम्पिक बाहेक पनि उनको प्रशिक्षणमा विभिन्न मुलुकमा पुगेर पारा खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १८:०८