काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएको छ।
जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताएको हो।
अध्यक्ष नेपालले भने “नेकपा एमालेलाई धुलो चटाउने छौँ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उनले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिए।
देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए।
अध्यक्ष नेपालले भने, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ।” यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उनले कार्यकर्तालाई आग्रह गरे।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोलेका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८ ०८:११