काठमाडौ । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी कर्मचारीलाई सङ्गठनको नीति निर्देशन एवं प्रचलित कानुनअनुसार परिचालित भई काम गर्न निर्देशन दिएको छ।
हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गर्न निर्देशन दिएको हो।
अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रणलगायत विषयमा विशेष चनाखो भई सामूहिक भावनाका साथ काम गर्न सो अवसरमा उनले निर्देशन दिएका हुन्।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको महासभामा भाग लिन टर्की प्रस्थान गरेकाले उनले आफ्नो कार्यभार प्रहरी अतिरीक्त महानिरीक्षक शाहीलाई सुम्पिएको छ।
सो अवसरमा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले काम गर्नुपर्नेमा जोड दिँदै उच्च व्यावसायिक आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्न निर्देशन दिए।
प्रहरी नायब महानिरीक्षक रविन्द्रबहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायब महानिरीक्षक राजेशकुमारलाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिएको थियो।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८ ०८:३५