काठमाडौ । काठमाडौंको बसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको छ।
महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कन्यापूजाको आयोजना गरेको हो।
‘कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रुपमा पूज्ने चलन छ। त्यसैले पनि नारीलाई सम्मान भावले पूजा गर्ने हाम्रो चलनलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न कन्यापूजाको आयोजना गरेका छौं।’ ईनर ह्वील क्लब अफ कीर्तिपुरकी प्रेसिडेन्ट सुशीला मानन्धरले वताए।
हुनपनि सुसंस्कृत संस्कार, संस्कृति र रीतिथितिले समुदायबीचको सदासयता, आत्मियता र भातृत्वलाई जोड्ने वास्तविकता हो।विभिन्न विचार र संस्कार अंगालेका तह र तप्कालाई सामाजिक तथा सांस्कृतिक मूल्यको आधारले जोड्ने सेतुलाई प्रचार गर्नु सकारात्मक पक्ष हो।
वैदिक मान्यतामा आधारित काठमाडौंको कुमारीपूजा जयप्रकाश मल्लको पालादेखि शुरु भएको विश्वास गरिन्छ। मध्यकालीन नेपालका अन्तिम मल्ल राजालाई सपनामा कुमारीले दर्शनभेट दिएको आधारले नारी सम्मानको लागि कुमारी प्रथाको सुरुवात गरेको बताइन्छ।
‘पञ्चकन्यालाई हिन्दु धर्मावलम्बीहरुले अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरीको रुपमा स्वीकार गरिएको छ।’ हिन्दुधर्मका अध्येता सुशील राजोपाध्याय बताउँछन्।
रजश्वला हुनुपूर्वका कुमारी केटी अर्थात कन्याहरुलाई १०८ संख्या बनाएर पूजा गर्नुको अर्थ संख्यामा पूर्णता दिइएको राजोपाध्यायको दाबी छ।
उच्च सम्मान र आदरार्थीभाव जनाउने गुरुहरुको विशेषणमा श्रीश्रीश्री १०८ लेख्ने चलन र रुद्राक्ष मालाको संख्या पनि उहि बनाउनुको अर्थ संख्यालाई पूर्णता दिइएको उनको तर्क छ।
हिन्दु र बौद्ध धर्म परम्परामा कुमारी वा कन्याले देश र जनतालाई रक्षा गर्ने विश्वास गरिन्छ। वैरभाव, शत्रुता र कपट विचारबाट विमुख हुने कन्यालाई पूर्णता दिएर नारीलाई सम्मान गर्नु हाम्रो परम्परा हो।
त्यसैले पनि कन्यापूजा पश्चात् भगवान रुपी कन्याबाट आशिर्वाद थाप्ने चलन रहेको छ। शुभकार्य र सुखद सुरुवातको कामनाको लागि पञ्चकन्यालाई अघि सारिन्छ।
पूजामा सहभागी भएका सम्पूर्ण कन्याहरुलाई सबभन्दा पहिले कुमारी बनेकी वास्तविक कुमारी माजु, गणेश र भैरवबाट टीका र प्रसाद बक्स भएको थियो। कार्यक्रममा सहभागी महानुभावहरुले कन्याहरुलाई आआफ्नो इच्छा बमोजिम कापीकलम हस्तान्तरण गरेका थिए।
ईनर ह्वील अन्तर्राष्ट्रिय सामाजिक संस्था हो। नारीहरुको क्षमता अभिवृद्धि गरी उत्थान गर्ने उद्देश्यले स्थापित ईनर ह्वीलले नेपालमा मात्र ३२ वटा संस्थाहरु बनाइसकेको छ।
राजधानीस्थित ईनर ह्वील कीर्तिपुरको अभिभावकत्वमा अन्य तीन संस्थाहरु सक्रिय छन्। संस्थाले यसअघि पनि नारीहरुको लागि थुप्रै सामाजिक कामहरु गरिसकेको छ।
सुख, शान्तिको कामना गरी अनिष्ट हुनबाट बचाउन आयोजना गरिएको यस कन्यापूजामा सामुदायिक र संस्थागत स्कूल, बालगृहका घरबारबिहीन तथा अनाथ नानीहरुको सहभागिता थियो।