हिजो !
चुनाव लड्दै थियो ऊ
हात जोड्थ्यो नम्र बोल्थ्यो
विनित भावमा आफ्ना कुरा राख्थ्यो
लाग्थ्यो मान्छे भनेको यस्तो पो !
के देखिदैनथ्यो र उसमा
शालिनता, भद्रता, नम्रता, विवेक आदि इत्यादि
थुप्रै गुणहरु देखिन्थे उसमा
किन कि ऊ चुनाब लड्दै थियो
जनप्रतिनिधि ! बन्ने
प्रक्रियामा थियो ऊ ।
आज !
फरक छ ऊ !
रबाफ बोकेको छ उस्ले
तर जबाफ छैन उसमा
अभिमान बोकेको छ उसले
स्वाभिमान हराएको छ उसमा
हरेक कुरा उसको हुनुपर्छ
प्रक्रिया भन्ने नै हुँदैन उसमा
खटनपटन उसको चल्नुपर्छ
तर ! कानुनले निर्दिष्ट गरेको कुरा चल्दैन
ऊ ! कानुन खेलाउन खोज्छ
उसलाई मन लागे जे पनि बोल्छ
पदिय जिम्मेवारी भुल्छ
विधि र नम्सका सिमाहरु भत्काउँछ
कसैलाई सुन्दैन ऊ !
सबलाई निरीह सम्झन्छ
भोट विर्सन्छ तर नोट बिर्सिदैन
किन कि ऊ !
जनप्रतिनिधि हो ।
ऊ !
आफूलाई समाजशास्त्रको विज्ञ झैँ ठान्छ
समाजशास्त्र पढाउन खोज्छ
श्रम गर्नेहरुलाई हेप्छ
पसिना चुहाएर जीविकोपार्जन गर्नेहरुलाई
सामाजिक प्राणी मै गन्दैन ऊ !
जागिर गर्ने वा कुनै पेसामा आबद्धलाई
मान्छे नै भन्दैन ऊ !
र आफूलाई ! नम्बरको
समाजसेवी घोषणा गर्छ
तर ! सुबिधा लिन्न कहिल्यै भन्दैन
र बापतमा महिनौ पिच्छे
जनताले गाँस कटाएर
तिरेको करबाट तलब बुझ्छ
हरेक मिटिङ्गको भत्ता बुझ्छ
तर पनि जनताको सेवक हुँ भन्न छोड्दैन
किन कि ऊ !
स्वघोषित समाजसेवी हो
र ऊ जनप्रतिनिधि हो ।
बडो मापाको देखिन्छ ऊ !
नैतिकताको पाठ पढाउन खोज्छ
प्रश्न उठाउनु हुँदैन उसलाई
तँ को होस रु मलाई प्रश्न गर्ने भन्दै
उल्टै हपार्न खोज्छ ।
जबाफ दिन आवस्यक ठान्दैन ऊ !
नैतिक जिम्मेवारीलाई मान्दैन ऊ !
शक्तिको कुरा गर्छ
शक्तिको आडमा भक्तिको मन्त्र रटाउन खोज्छ ऊ !
यता पारदर्शिताको कुरा गर्छ
उता विचौलियाहरुको साथ लिन्छ
र ठेकेदारसँग विलो उठाउँछ
निर्भीक आवाज उठाउनेलाई
दबाउन खोज्छ
पेल्ने कुरा गर्छ ऊ !
बेल्ने कुरा गर्छ ऊ !
डर देखाउँछरधम्क्याउँछ र तर्साउन खोज्छ ऊ !
पदिय जिम्मेवारीलाई बिर्ता सम्झन्छ
आफूलाई धुरीमा राख्छ
अरुलाई कीरा-फट्याङ्ग्रा ठान्छ
र कुल्चन खोज्छ ऊ !
किन कि ऊ !
स्वघोषित समाजसेवी हो
र ऊ जनप्रतिनिधि हो ।
मानौं कि !
ऊ ! अथाह ज्ञानको भण्डार हो
सबै विषयको निर्विकल्प श्रोत हो ऊ !
नयाँ नयाँ भाष्य सृजना गर्छ
खुलेआम भ्रम बेच्छ
र सत्य मान्नुपर्ने बाध्यता जबर्जस्त खडा गर्छ
जे गर्छ अद्भुत गर्छ !
नारा समाजको लगाउँछ
नाक आफ्नो जोगाउँछ
दोहोरो मापदण्ड अपनाउँछ
पदिय लाभ उठाउँछ
भोलिको चिन्तामा देखिन्छ ऊ !
आउने चुनाबले सताएको छ उसलाई
त्यसैले, धेर थोर कनिका पनि छर्छ
र सँगसगै राजनिती गर्छ
किन कि ऊ !
स्वघोषित समाजसेवी हो
र ऊ जनप्रतिनिधि हो ।
- खेम आचार्य
चितवन
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८ ०७:२०