राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको ढुङ्गाको शालिकको अनावरण भएको छ।
अर्जुनधारा नगरपालिका-९ स्थित नमूना सामुदायिक वनको परिसरमा निर्मित शालिकको किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले एक कार्यक्रमका बीच अनावरण गरेको हो। फाल्गुनन्दको यो १६औँ शालिक भएको जनाइएको छ।
फाल्गुनन्द स्मृति प्रतिष्ठानले विसं २०७४ मा नेपाल सरकारको २० लाख, साविक जिल्ला विकास समितिको ५ लाख र विभिन्न दाताबाट सङ्कलन भएको २५ लाख गरी कूल ५० लाखमा लिङ्देनको शालिकसँगै माङहिम (किराँत धर्मालम्बीको मूल मन्दिर), धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको थियो।
कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती र धर्मगुरु लिङ्देनले निर्माणको ३ वर्षपछि सम्पूर्ण संरचनाको उद्घाटन गरेको हो।
लिङ्देनको ६ फिट उचाइ रहेको शालिक निर्माणमा मात्र १० लाख खर्च भएको कार्यक्रममा जानकारी दिइएकोे थियो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शेरबहादुर इङ्नामका २ वटा कृति विमोचनसमेत गरिएको थियो। उनको ‘इति वृत्तान्त’ कृतिको विमोचन धर्मगुरु लिङ्देन र ‘मेरा जीवनका मोड’ नामक कृतिको उपकुलपति उप्रेतीले गरेएकोे थियो।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ ०५:४६