- टेकेन्द्र बोहरा
बझाङ्ग जिल्ला मस्टा गाउँपालिका वडा नं. २ धुरिल्लकी ४५ वर्षिय रामकला खड्का एक निम्नवर्गीय एकल महिला हुन्। उनका श्रीमानको करिब ५ वर्ष पहिले रोगका कारण उपचार गर्न नसकी अकालमै मृत्यु भयो । श्रीमानको मृत्युपछि २ छोरा २ छोरीको लालनपालन तथा शिक्षाको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आइपर्यो।
वर्षभरी खेतवारीमा काम गरेपनि आफ्नो उब्जनीले चार महिना मात्र खान पुग्ने र आफ्नो नाम समेत लेख्न नजान्ने र हातमा खेती किसानीका परम्परागत काम बाहेक अरु केही शीप पनि नभएको र गाउँघरमा ज्याला मजदुरी गरेर खान पनि सधै काम नपाउने र कुनै दिन पाएको बेला दैनिक ४/५ सय रुपैयाँ पैसा पाउथे। यसरी उनीले केही वर्ष गाउँघरमा अरुको ज्याला मजदुरी गरी आफूले खाई नखाई छोराछोरीको पालनपोषण गर्दै छोराछोरीका पढाइ खर्च मुश्किलले चलाएका थिए।
कृषक रामकला खड्काले भनिन्, “एक दिन गाउँमा चैनपुरवाट एकिकृत विकास मञ्चका सरहरु आउनु भयो । उहाँहरुले गाउँमा युनाइटेड मिसन टु नेपाल (युएमएन ) बझाङ्ग र एकिकृत विकास मञ्चको साझेदारीमा खाध्य सुरक्षा परियोजना लागू भएको जानकारी गराउनु भयो र समुदायमा रहेका हामी जस्ता आर्थिक विपन्न सदस्यहरुलाई समेटेर समुह बनाउनका लागि सहजकिरण गर्नु भयो र हामी महिलाहरु मिलेर केरावारी महिला समूह गठन गर्याै।”
“शुरुशुरुमा समुहको वैठकमा वोलाउदा खासैजान मन लाग्दैन थियो तैपनि समुह गठन भएदेखि म समुहमा नियमित रुपमा जाने, नियमित वचत गर्ने र समुहमा भएका निर्णयको इमान्दारीकासाथ पालना गर्दै गए र समुहमा बस्दै जाँदा कुरा बुझ्दै गए। संस्थाले समुहमा बिभिन्न विषयमा छलफल, तालिम दिएपछि हामीमा बचतको बानीमा विकास, गाउँघरमा नै केही आयआर्जन गर्न सकिने आशा पलायो। यसै सिलसिलामा गाउँमा रहेका दलित गरीव एकल निम्नवर्गका मानिसहरुका लागि जिविकोपार्जन सबन्धि काम गर्दो रहेछ भन्ने कुरा मैले बुझेँ ।”, कृषक खड्काले भनिन्।
“हामीले संस्थालाई आयआर्जनका लागि माग गर्न एकदिन समुहको वैठकमा समुहभित्र रहेका आर्थिक अवस्था कमजोर भएका महिलाहरुको नाम लिस्ट तयार गर्यौ यसमा मेरो नाम पनि समावेश भयो। हामीले हाम्रो समुहवाट बाख्रापालन गर्ने योजना बनायाै मेरोे नाम समुहवाट सिफारिस भयो। नाम सिफारिस भएको केही दिनपछि संस्थाका कर्मचारीहरुले हामीलाई वाख्रापालन सम्बन्धि तालिम दिएर पछि ४ ओटा वाख्रा पनि पाएँ एकदमै खुशी लाग्यो। अब आफ्नो जिविकोपार्जन यही वाख्रा पालेर गर्नुपर्छ भन्ने सोच भयो।”
वाख्रालाई निरन्तर रुपमा पाल्दै गएँ केही महिनापछि वाख्रा पनि ठूला हुँदै गए। आफूले अहिलेसम्म १ बोका रुपैयाँ ७ हजारमा र १ खसी रुपैयाँ १२ हजारमा बिक्रि गरी घरखर्च तथा छोराछोरीको पढाइमा खर्च गरेको उनले बताए। अहिले घरमा ६ ओटा बाख्रा छन् अहिले चलेको भाउअनुसार आफूसंग लगभग ६० हजार बराबरको बाख्रा रहेकाले यसले आफ्नो आत्मबल बढेको कुरा पनि बताइन्। उनले आफ्नो समुहमा महिनाको एक सयका दरले नियमित जम्मा गरेको रकम हाल लगभग ४ हजार पुगिसकेको छ।
त्यस्तै आफूले कमाएको केही पैसा गाउँकै सहकारीमा पनि जम्मा गर्ने गरेको छ। अहिले उनका एक छोरा जालपा माध्यमिक विध्यालयमा भेटेनरी जेटिएमा पढ्न थालेको, एक छोरो बैदेशिक रोजगारका लागि भारत गएका छन्, एक छोरी स्नातकतहमा अध्ययनरत छिन् भने अर्की छोरी गाउँकै स्कूलमा कक्षा ५ मा अध्ययनरत छिन्।
यसरी बाख्रापालनबाट आम्दानी हुन थालेपछि वाख्रा पालेरै भएपनि छोराछोरीलाई जसरी पनि राम्रो शिक्षा दिलाउँन सक्छु भन्ने आशा जगाएको छ। यसरी दुःखमा परे काम जस्ता निम्न आय भएका महिलालाई बाख्रापालन ब्यवसायतर्फ अग्रसर गराई आयस्तर बृद्धि गर्नमा सहयोग गरी मेरो परिवारका लागि आवश्यक खर्च जुटाउन मद्दत गरेकोमा कृषक खड्का युनाइटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्चलाई धन्यवाद दिन्छिन्।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ १९:०१