काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताएको छ।
सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्दै उनले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताएका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि ५ उम्मेदवार प्रतिस्पर्धामा थिए। सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी २ हजार २५८ मत प्राप्त गरेको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले १ हजार ७०२ मत प्राप्त गरेको थियो।
सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेको थियो।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए् भने मतदानमा कूल ७६ मत बदर भएको थियो।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ। पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच पुनःमतदान गरिनेछ। पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ १६:३२